थसेस जापानको आयोजनामा शुभकामना सांझ भब्यताका साथ सम्पन्न

28 March 2010

थकाली सेवा समिति जापानको बर्षेनी हुँदै आएको “शुभकामना साँझ” कार्यक्रम आज टोकियोमा बिशेष मनोरञ्जनपूर्ण हास्यब्यङ्ग्य र साँगीतिक प्रस्तुतीहरुका बिच सम्पन्न भयो । थकालीहरुको महान पर्व मानिने फागुपूर्णिमा अर्थात तोरन्ल्हको उपलक्षमा आयोजित विविध साँगीतिक कार्यक्रम शुभकामना साँझमा नेपालबाट आमन्त्रित हास्य कलाकारद्वय जितु नेपाल (मुन्द्रे) र गोपाल नेपाल (फिष्टे) को चोटीला हास्य प्रहसनका साथै चर्चित गायक निमा रुम्बाको बिशेष आकर्षण रह्यो ।
कार्यक्रममा हास्य कलाकारद्वयले हास्यब्यङ्ग्यमार्फत नेपालको समसामयिक बिषयबस्तुहरुका सम्बन्धमा बिद्यमान बिसंगति र बिकृतिमाथि चोटिलो प्रहार गर्दै दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए । यसैगरी अर्का अतिथि कलाकार गायक निमा रुम्बाले आफ़्ना लोकप्रिय साँगीतिक कोसेलीहरु पस्केर भरपूर साँगीतिक मनोरञ्जन प्रदान गरे । नेपालबाट आमन्त्रित अतिथि कलाकारहरुलाई सन्तोषी गौचन, रेनु तुलाचन, दीपक गौचन, धर्म थापा लगायतका स्थानिय कलाकारहरुले सघाएका थिए । उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको सो कार्यक्रम टोकियो मेगुरोस्थित मेगुरो कुमिन सेन्टरमा भएको थियो ।
१९ औं शुभकामना साँझ कार्यक्रमको एनआरएन आईसीसीका प्रवत्ता डा. कुमार बस्नेत र नेपाली आदिबासी जनजाती महासंघका अध्यक्ष ओम गुरुङद्वारा संयुक्तरुपमा उदघाटन गरिएको थियो । कार्यक्रममा नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधनप्रति गहिरो दुख प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली ब्यक्त गरियो । सँस्थाको तर्फबाट पारित उक्त शोक बक्तब्य महासचिव अनिल भट्टचनले पढेर सुनाउनु भएको थियो । (समुद्र पारिबाट साभार)

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP